रौतहटको मौलापुर नगरपालिका नगरबासीलाई प्रदान गरिँदै आएको आधारभूत सेवा तथा सामाजिक सहयोगका कार्यक्रम रोकिएको भन्दै मौलापुर नगरपालिका विरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । पछिल्लो केही महिनादेखि बिजुली, खानेपानी तथा विवाहसम्बन्धी आर्थिक सहयोग वितरणमा रोकिएको भन्दै असन्तुष्टि चुलिँदै गएको हो ।
यसै सन्दर्भमा नगरपालिकाका विभिन्न वडामा गठित संघर्ष समितिले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिका संयोजकका अनुसार नगरपालिकाले नागरिकको दैनिकि जीवनसँग प्रत्यक्ष जोडिएका सेवा समयमै उपलब्ध नगराउँदा जनजीवन नै प्रभावित भएको छ ।
संघर्ष समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तर्क्रिया तथा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ । त्यसपछि वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई औपचारिक ज्ञापन–पत्र बुझाइनेछ । यस्तै, वैशाख २१ गते नगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने र माग सम्बोधन नभए जेष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिइएको छ ।
स्थानीयवासीहरूले नगरपालिकाले पारदर्शी रूपमा सेवा प्रवाह नगरेको, सामाजिक सुरक्षा तथा सहयोगका शीर्षकमा उपलब्ध गराउनुपर्ने रकम रोकिएको, तथा जनताको गुनासोलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । उनीहरूले तत्काल समस्या समाधान गरी रोकिएको भुक्तानी उपलब्ध गराउन माग गरेका छन् ।
यसैबीच, केही स्थानीयले नगरपालिकामा बजेट व्यवस्थापन र प्रशासनिक ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या आएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले स्पष्ट नीति, पारदर्शिता र जवाफदेहिताको माग गरेका छन् ।
यता, मौलापुर नगरपालिका कार्यालय का तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन । नगर प्रमुख वा सम्बन्धित अधिकारीहरूको धारणा सार्वजनिक नभएकाले विषय थप जटिल बन्ने संकेत देखिएको छ ।
स्थानीयस्तरमा बढ्दो असन्तुष्टि र आन्दोलनका कार्यक्रमले आगामी दिनमा स्थिति थप तनावपूर्ण बन्न सक्ने अनुमान गरिएको छ । सरोकारवाला निकायले समयमै पहल नगरे अवस्था नियन्त्रण बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।