जनकपुरधाम | धनुषाको सबैला नगरपालिका–१० खरिहानीका स्थानीय व्यवसायी तथा समाजसेवी कुलदिप महतोले आफूले गरेको भाकल पूरा गर्दै तौल बराबरको लड्डु चढाएका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बनेपछि लड्डु चढाउने भाकल गरेका थिए ।
खरिहानीस्थित सन्तोषी माताको मन्दिरमा विधिपूर्वक पूजा–पाठ गर्दै महतोले लड्डु चढाएका हुन् । पूजापछि उक्त लड्डु भगवानलाई अर्पण गरी गाउँभरि प्रसादका रूपमा वितरण गरिएको थियो । स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागितामा धार्मिक वातावरणमा कार्यक्रम सम्पन्न भएको बताइएको छ।
महतोले देशमा इमानदार र दूरदर्शी नेतृत्वको आवश्यकता औँल्याउँदै युवा पुस्ताबाट आएको नेतृत्वप्रति आफ्नो विश्वास व्यक्त गरे । “इन्जिनियर पृष्ठभूमिका युवाले देशको नेतृत्व सम्हालेको देख्न पाउँदा खुसी लागेको छ। त्यसैले मैले गरेको भाकल आज पूरा गरेको हुँ,” उनले भने ।
स्थानीयका अनुसार यस्तो प्रकारको भाकल र धार्मिक कार्यक्रमले गाउँमा सामाजिक एकता र सद्भाव बढाउन सहयोग पुगेको छ । कार्यक्रममा सहभागीहरूले देशमा सुशासन, विकास र स्थायित्वको कामना गरेका थिए ।
यस्तै, पछिल्लो समय विभिन्न स्थानमा राजनीतिक परिवर्तन वा अपेक्षासँग जोडिएका भाकल पूरा गर्ने चलन बढ्दो देखिएको छ । धार्मिक आस्था र समसामयिक राजनीतिक घटनाबीचको सम्बन्धले यस्ता गतिविधिहरू समाजमा चर्चाको विषय बन्न थालेका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)