पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका सर्लाहीका अधिकांश १५ शय्याका आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छैनन् ।
२०७७ मङ्सिर १५ गते देशभर तीन सयभन्दा बढी पालिकामा ‘भर्चुअल’ माध्यमबाट एकैसाथ अस्पताल शिलान्यास गरिएको थियो । सर्लाहीमा त्यसबेला शिलान्यास भएकामध्ये हरिवन नगरपालिका–स्थित सासापुरमा मात्र अस्पताल भवन निर्माण भई सञ्चालनमा आएको छ ।
अन्य पालिकामा भने कतै भवन निर्माण भएर पनि अलपत्र अवस्थामा छन् भने कतै विवादका कारण निर्माण नै हुन सकेको छैन । चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले भवन तयार भए पनि जनशक्तिको अभावमा अस्पताल सञ्चालन गर्न समस्या भएको बताए ।
उनले संघीय सरकारले आवश्यक दरबन्दी उपलब्ध गराउने अपेक्षा गरिएको उल्लेख गर्दै भने, “संघले डाक्टर र स्वास्थ्यकर्मी नदिए पनि अब गाउँपालिकाबाटै करारमा नियुक्त गरेर भए पनि अस्पताल सञ्चालन गर्ने तयारीमा छौँ ।”
स्थानीय तहहरूले आन्तरिक स्रोतबाट मात्र अस्पताल सञ्चालन गर्न कठिन भएको बताएका छन् । सर्लाहीको सीमावर्ती गोडैता नगरपालिकामा पनि अस्पताल भवन तयार भए पनि सञ्चालनमा आउन सकेको छैन ।
गोडैताका नगरप्रमुख देवेन्द्रकुमार यादवका अनुसार संघीय सरकारले तत्काल खर्च गर्न नसक्ने र दरबन्दी सिर्जना गर्न नसक्ने बताएपछि अस्पताल सञ्चालन अन्योलमा परेको हो । “एमबिबिएस चिकित्सक राखेर पालिका एक्लैले अस्पताल चलाउन सम्भव छैन,” उनले भने ।
नगरप्रमुख यादवले अस्पताल सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह र मधेश प्रदेशका स्वास्थ्यमन्त्री जङ्गीलाल राय यादवसँग समेत पहल भइरहेको जानकारी दिए । “दरबन्दीका लागि संघ र प्रदेश दुवै तहमा प्रयास गरिरहेको छु, तर अझै समाधान निस्किएको छैन,” उनले भने ।
आधारभूत अस्पताल सञ्चालनमा नआउँदा सर्लाहीका २० पालिकाका बासिन्दा मलङ्गवास्थित प्रादेशिक अस्पताल तथा लालबन्दी, हरिवन, बरहथवा र बयलवासका नगर अस्पतालमै निर्भर रहन बाध्य भएका छन् ।
स्थानीयवासीका अनुसार सरकारी अस्पतालप्रति अझै विश्वास नबढ्दा निजी स्वास्थ्य संस्थाप्रति आकर्षण कायमै छ । लालबन्दी नगरपालिका–६ का राजन पोखरेलले प्रभावकारी सेवा नहुँदा सर्वसाधारण निजी अस्पताल धाउन बाध्य भएको बताए ।
निर्माण भएका अस्पताल सञ्चालनमा नआउँदा र आधारभूत स्वास्थ्य सेवा प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक सामान्य उपचारका लागि समेत सदरमुकाम तथा निजी स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था रहेको छ ।