मधेस प्रदेशको जनकपुरधाममा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस तथा जयन्ती (जनकी नवमी) यस वर्ष पनि श्रद्धा र भक्तिभावका साथ भव्यतापूर्वक सम्पन्न भएको छ ।
जनकी नवमीको अवसरमा प्रसिद्ध जानकी मन्दिरको प्रांगणमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमअन्तर्गत साँझ दीप प्रज्वलन गरी धार्मिक वातावरणलाई अझ आकर्षक बनाइएको थियो । सीताको जन्मजयन्तीका रूपमा मनाइने यस पर्वमा साताव्यापी विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार, जानकी नवमी उत्सवको अवसरमा मन्दिरको आयोजनामा शाही स्नान, जन्मोत्सव, डोला शोभा यात्रा, बधाई गानलगायत विभिन्न कार्यक्रम सम्पन्न गरिएको हो ।
उनले धर्मग्रन्थमा उल्लेख भएअनुसार वैशाख शुक्ल नवमीको मध्याह्नमा माता सीता धर्तीबाट प्रकट भएको विश्वासलाई निरन्तरता दिँदै परम्पराअनुसार पर्व मनाइएको जानकारी दिए ।
यस अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट साधुसन्त तथा श्रद्धालुहरू जनकपुरधाममा उपस्थित भई पूजाअर्चनामा सहभागी भएका थिए ।