धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर चोकमा करिब ५३ वर्षदेखि अतिक्रमण गरिएको सार्वजनिक जग्गा अन्ततः प्रहरीको सहयोगमा डोजर प्रयोग गरी खाली गराइएको छ ।
मिथिला नगरपालिकाले शनिबार उक्त क्षेत्रमा निर्माण गरिएका पक्की भवन, घरटहरा तथा पसलहरू भत्काएर हटाएको हो । सडक क्षेत्रमा करिब २५ देखि ३० जनाले लामो समयदेखि बसोवास तथा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्न स्थानीय तहलाई संघीय सरकारले दिएको निर्देशनअनुसार केही दिनअघि नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गर्न सूचना जारी गरेको थियो ।
अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएपछि सो सडक पुनः सञ्चालनमा ल्याइने जनाइएको छ। स्थानीयका अनुसार विसं २०२६ सालमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा उक्त सडक प्रयोगमा ल्याइएको थियो । तर, विसं २०३० सालतिर सो स्थानबाट दक्षिणतर्फ नयाँ सडक खुलेपछि पुरानो मार्ग प्रयोगविहीन बनेको थियो ।
त्यसपछि क्रमशः स्थानीयले उक्त सडक क्षेत्रमा घरटहरा निर्माण गरी बसोवास र व्यवसाय सञ्चालन गर्दै आएका थिए । यसअघि पनि पटक–पटक अतिक्रमण हटाउने प्रयास भएपनि राजनीतिक दबाबका कारण कार्यान्वयन हुन सकेको थिएन ।
नगर प्रमुख महेन्द्र महतोका अनुसार पछिल्लो तीन वर्षमा तीन पटक सार्वजनिक सूचना जारी गरिए पनि मुद्दामामिला र राजनीतिक हस्तक्षेपका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
हाल संघ तथा प्रदेश सरकारबाट सार्वजनिक सडक तथा जग्गा अतिक्रमण हटाउन कडाइका साथ निर्देशन आएपछि नगरपालिकाले सोहीअनुसार कदम चालेको र सडकको मापदण्ड कायम गरी आवागमनलाई सहज बनाइने नगर प्रमुख महतोले जानकारी दिए ।