रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती टोलमा सडक तथा नाला निर्माण कार्यमा अनियमितता भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
स्थानीयका अनुसार सडक डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर सुरेन्द्र शाहले आफन्तको नाममा निर्माण कम्पनी दर्ता गराई सोही कम्पनीमार्फत उक्त क्षेत्रमा सडक र नाला निर्माणको काम अघि बढाएको आरोप लगाइएको छ । निर्माण सुरु भएदेखि नै कामको गुणस्तर कमजोर रहेको भन्दै स्थानीयले निरन्तर विरोध गर्दै आएका छन् ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सो वडामा सडक तथा नाला निर्माणका लागि १ करोड ८३ लाख ९९ हजार ३ सय ६६ रुपैयाँ ७८ पैसामा ठेक्का लगाएको थियो । उक्त ठेक्का श्री गायत्री मा/एस.के.एस.ए.जे.भी, जनकपुर–१३ धनुषाले सकार गरी काम सुरु गरेको हो ।
निर्माण कम्पनीका सञ्चालक जोगेन्द्र साह प्राविधिक सुरेन्द्र शाहका आफ्नै काका रहेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीय उपेन्द्र यादवका अनुसार सडक ग्रेडिङ नगरी हतारमा ढुंगा हाल्ने, नालामा कमजोर तथा कमसल सामग्री प्रयोग गर्ने जस्ता कार्य भइरहेको छ । उनले गुणस्तरीय निर्माणको माग गर्दै काम रोक्न दबाब दिएका छन् ।
स्थानीयको विरोधपछि सम्बन्धित प्राविधिकसहितको टोली गाउँ पुगेको र त्यस क्रममा केही समय तनावको अवस्था समेत सिर्जना भएको स्थानीयले बताएका छन् ।
ठेक्का नम्बर आरडिसिएनपी/३३८०११६९४/०८२/८३–१० अनुसार २०८२–८–८ मा सम्झौता भई २०८३–३–२० भित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको छ । तर हतारमा भइरहेको गुणस्तरहीन कामले राज्यलाई करोडौँको नोक्सान हुने र स्थानीयलाई समस्या हुने अर्का स्थानीय देवेन्द्र यादवले बताए ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सम्बन्धित प्राविधिकले आफू इन्जिनियर भएको उल्लेख गर्दै काममा अवरोध नगर्न चेतावनी दिएको देखिएको स्थानीयको भनाइ छ ।
स्थानीयले सरकारी कर्मचारी आफैं निर्माण कार्यमा संलग्न भई प्रश्न उठाउँदा दबाब दिने कार्य गलत भएको बताएका छन् । उनीहरूले घटनाको छानबिन गरी गुणस्तरहीन निर्माण तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यता, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरूको संलग्नताबारे पनि आशंका व्यक्त गरिएको छ । सरकारी निकायसँग सम्बन्धित विकास निर्माणमा पारदर्शिता र गुणस्तर कायम गर्न आवश्यक रहेको स्थानीय बिगु सहनीले बताए ।