अखिल नेपाल किसान महासंघले मधेश प्रदेशका ८ वटै जिल्लाको अधिवेशन आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।
बिहीवार सम्पन्न महासंघको विस्तारित बैठकले संगठन निर्माणका विषयमा गम्भीर छलफल गर्दै अधिवेशन गर्ने निष्कर्ष निकालेको महासंघका मधेश प्रदेश इन्चार्ज उमेश गुप्ताले जानकारी दिएका छन् । महासंघका केन्द्रीय अध्यक्ष डा. प्रम दंगालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपा (एमाले) का मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको उपस्थिति रहेको थियो ।

बैठकले मधेश प्रदेशका सबै जिल्लामा संगठनको गतिविधि र किसानले भोगिरहेका समस्याका विषयमा घनिभूत छलफल गरेको थियो । बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष डा. दंगालले संगठनलाई किसानको समस्यासँग एकाकार गर्न विशेष निर्देशन दिएका थिए । पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले संगठनमा आधारभूत किसानलाई संगठित गरेर अगाडि बढ्नुपर्ने निर्देशन दिए ।
उनले कम्युनिष्ट पार्टीको बलियो आधार स्तम्भ नै किसान भएको स्मरण गर्दै किसानका समस्याको समाधान खोज्न नेतृत्वले ध्यान दिनुपर्ने सुझाव दिए । निरन्जन चौधरीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा मधेश प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
बैठकमा मधेश प्रदेशकी पूर्व राज्यमन्त्री शारदा देवी थापा, अन्जना कडरिया लगायतको समेत उपस्थिति रहेको थियो ।