सप्तरी | सप्तरीको राजविराज नगरपालिका–६ स्थित एक घरमा आगलागी हुँदा करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय सुदीप कुमार गुप्ताको घरमा आइतबार राति विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट कोठाभित्र रहेका कपडा, सुन, चाँदी, नगद, फर्निचर तथा मोबाइल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरका कपडा, १३ आनाको करिब २ लाख रुपैयाँ बराबरको सुन, १७ आनाको ३४ हजार रुपैयाँ बराबरको चाँदी, १ लाख ५१ हजार रुपैयाँ नगद, १ लाख ५० हजार रुपैयाँ बराबरका फर्निचरका सामग्री तथा २५ हजार रुपैयाँ बराबरका ३ थान मोबाइल जलेर नष्ट भएका छन् ।
स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ ।