रौतहट | रौतहटको मौलापुर नगरपालिकाद्वारा सञ्चालन हुँदै आएका ‘फ्रि बिजुली, फ्रि पानी’ तथा छोरीको विवाहमा नगद सहयोगजस्ता लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएपछि नगर प्रमुख रिनाकुमारी साह आक्रोशित भएकी छन् ।
वर्षौंदेखि सञ्चालनमा रहेका यी कार्यक्रमको भुक्तानी प्रमुख प्रशासकीय अधिकृतले “माथिको आदेश” भन्दै रोकेको आरोप लगाउँदै मेयर साहले यसप्रति आपत्ति जनाएकी हुन् । उनले नगरबासीले पाउँदै आएको सेवा–सुविधा रोक्ने षड्यन्त्र भइरहेको भन्दै आश्चर्य व्यक्त गरिन् ।
मेयर साहले भनिन्, “माथिको आदेश भन्दै मौलापुरमा भाँडभैलो गर्न खोजिएको छ । नगरबासीले पाउँदै आएको सेवा, सुविधा रोक्ने षड्यन्त्र कसले गरिरहेको छ, म आफैं आश्चर्यचकित छु । संविधान र कानुनअनुसार स्थानीय सरकारले काम गर्न पाउनुपर्छ। कानुनविपरीत कुनै पनि हस्तक्षेप स्वीकार्य छैन ।”
उनले प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराउँदै स्थानीय सरकारलाई कानुनअनुसार काम गर्ने वातावरण मिलाउन आग्रह गरिन् । “तपाईंको कार्यकालमा स्थानीय सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुस्,” उनले भनिन् ।
मेयर साहले प्रमुख प्रशासकीय अधिकृतले बैठकको कार्यसूची आफैं तय गर्ने र निर्णय उपमेयरबाट प्रमाणीकरण गराउन खोज्ने कार्य प्रचलित कानुन र मूल्य–मान्यताको विपरीत रहेको आरोपसमेत लगाइन् ।
मौलापुर नगरपालिका ‘फ्रि बिजुली, फ्रि पानी’जस्ता कार्यक्रमका कारण देशभर चर्चित रहँदै आएको छ । यस्ता कार्यक्रम अन्य स्थानीय तहले समेत अनुकरण गरिरहेको अवस्थामा भुक्तानी रोक्नु अनुचित भएको मेयर साहको भनाइ छ । उनले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरिन् ।
उता, कार्यक्रमको भुक्तानी रोकिएपछि स्थानीयबासिन्दाले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । संघर्ष समितिले वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन सुरु गरेको छ ।
समितिले वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने, वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने र जेठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।