सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुक्नाहाचोकमा जन्ती आएका युवक र स्थानीयबीच विवाद हुँदा कुटपिटबाट दुई जना युवक घाइते भएका छन् ।
महोत्तरीको गौशाला नगरपालिका–७ मनहर्वाबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७ मोहनगंजतर्फ गएको जन्ती टोलीमा सहभागी युवकहरूमाथि स्थानीयले आक्रमण गरेका हुन् ।
घाइते हुनेहरूमा २७ वर्षीय सुजित यादव र ३२ वर्षीय सुशील यादव रहेका छन् । उनीहरूको उपचार हरिपुर्वा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति करिब साढे १० बजेतिर सुक्नाहाचोकमा सामान्य विषयलाई लिएर जन्ती र स्थानीयबीच विवाद सुरु भएको थियो । विवाद चर्किँदै जाँदा स्थानीयको समूहले कुटपिट गरेको बताइएको छ ।
आक्रमणबाट युवकहरू सवार बीआर ३० एपी ४७३० नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।