नेपाल रेल्वे कम्पनी यतिबेला नेतृत्वविहीन अवस्थामा सञ्चालन भइरहेको छ । सात महिनादेखि महाप्रबन्धक पद रिक्त रहँदा कम्पनी ‘स्टोर किपर’को भरमा दैनिक सेवा सञ्चालन गर्न बाध्य भएको छ ।
प्राविधिक जनशक्तिको अभाव, विदेशी कर्मचारीमाथिको निर्भरता, कमजोर व्यवस्थापन र बढ्दो ऋणबीच रेल सेवा सञ्चालन भइरहेको छ । कर्मचारीका अनुसार नेतृत्व अभावका कारण निर्णय प्रक्रिया प्रभावित भएको छ भने सेवा प्रवाहमा समेत असर परेको छ ।
हाल भारतको जयनगरदेखि महोत्तरीको भङ्गहासम्म ५२ किलोमिटर दुरीमा रेल सेवा सञ्चालनमा छ । दैनिक तीन सिफ्टमा सञ्चालन हुने रेलबाट करिब अढाई लाख रुपैयाँ आम्दानी हुने गरे पनि खर्च संरचना उच्च भएकाले कम्पनी घाटामा छ ।
तत्कालीन महाप्रबन्धक निरञ्जन झाका अनुसार मासिक आम्दानी करिब ७५ लाख रुपैयाँ हुँदा खर्च एक करोड २९ लाख रुपैयाँसम्म पुग्ने गरेको छ । २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण ७९ करोड रुपैयाँ नाघिसकेको छ ।
आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म कुल १९ करोड २१ लाख रुपैयाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख रुपैयाँ खर्च भएको तथ्यांक छ । पछिल्लो आर्थिक वर्षमा मात्र ८ करोड ५० लाख आम्दानी हुँदा २६ करोड २७ लाख खर्च भएको देखिएको छ ।
रेल्वेमा नेपालीतर्फ १४२ जना दैनिक ज्यालादारी कर्मचारीसहित सीमित स्थायी जनशक्ति छन् भने मुख्य प्राविधिक जिम्मेवारी भारतीय कर्मचारीले सम्हालिरहेका छन् । हाल २३ जना भारतीय कर्मचारी रेल सञ्चालनमा संलग्न छन्, जसका कारण खर्च उच्च भएको बताइएको छ ।
हाल ‘स्टोर किपर’ केवलबहादुर नेपालीले दैनिक सञ्चालन व्यवस्थापन सम्हालिरहेका छन् । उनले महाप्रबन्धक नहुँदा निर्णय अधिकार बिना सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए । साथै, सूचना अधिकारीसमेत नहुँदा यात्रु र सरोकारवालालाई जानकारी दिन कठिनाइ भइरहेको उनको भनाइ छ ।
रेल विभाग प्रमुख हरिकुमार पोखरेलले छिट्टै नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । उनले मालवाहक (कार्गो) सेवा सञ्चालन भएमा रेल्वे आर्थिक रूपमा नाफामूलक बन्न सक्ने बताए ।
स्थानीय व्यवसायीहरूले पनि रेललाई यात्रुवाहक सेवामा मात्र सीमित राखेर नाफा सम्भव नभएको बताएका छन् । उनीहरूका अनुसार भारतको कोलकाता बन्दरगाहसँग जोडिएको कार्गो सेवा सञ्चालन गर्न सके ढुवानी लागत घट्ने र आम्दानी बढ्ने सम्भावना छ ।
यसैबीच, जनकपुरधामस्थित रेल्वे स्टेशनमा आधारभूत पूर्वाधारको अभाव देखिएको छ । खानेपानी, सरसफाइ र यात्रु सुविधाको कमीले सेवा गुणस्तरमा असर परेको स्थानीयको गुनासो छ ।
फ्युलिङ स्टेशन, स्थायी वर्कसप र दक्ष जनशक्ति अभाव पनि रेल्वेको प्रमुख समस्या रहेको छ । रेल विभागले भविष्यमा रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिई वार्षिक आम्दानी बढाउने तथा रेल म्युजियम स्थापना गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।
सरोकारवालाहरूका अनुसार कार्गो सेवा सञ्चालन, स्वदेशी दक्ष जनशक्ति उत्पादन र प्रशासनिक सुधार भएमा नेपाल रेल्वे आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको छ ।