सिरहा | सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका डीएसपी विजय हमाललाई छिन्नमस्ता बाहिनी, महोत्तरीमा तानिएको छ । स्थानीयसँग भएको विवाद र आचरणसम्बन्धी आरोपबारे छानबिन गर्न उनलाई बाहिनीमा बोलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार स्थानीयसँगको झडप, आक्रोशित व्यवहार तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोगबारे उठेका प्रश्नपछि छानबिन प्रक्रिया अघि बढाइएको हो ।
हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयसँग विवाद भएको थियो । सोही क्रममा डीएसपी हमाल आक्रोशित शैलीमा प्रस्तुत भएको आरोप छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले “तिमीहरू तस्कर हौ” भनेको सुनिन्छ। यता, स्थानीयहरूले भने उनको व्यवहारमाथि प्रश्न उठाएका छन् । भिडियोमा उनी हेलमेट लगाएर बीआर ०६ डीवाई ३०४१ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गर्दै आएको पनि देखिएको छ ।
विवादपछि स्थानीयहरूले सिरहा क्षेत्र नं. २ का सांसद शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए। निरीक्षणपछि सांसद यादवले सर्वसाधारणलाई सामूहिक रूपमा तस्कर भन्नु गलत भएको टिप्पणी गर्दै प्रहरीको व्यवहारबारे छानबिन र आवश्यक कारबाहीको माग गरेका छन् ।
स्थानीयवासीहरूले समेत प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् । यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले विवादपछि डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरीमा तानिएको पुष्टि गरेका छन् । हमाल बरियारपट्टीस्थित माडर क्षेत्र अन्तर्गत कार्यरत थिए ।