नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलको नेता चयनका लागि गठित निर्वाचन समितिले आङ्देम्बे निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
यसअघि पार्टी सभापति गगन कुमार थापाले कार्यसम्पादन समितिको निर्णयअनुसार संसदीय दलको बैठकमा आङ्देम्बेको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।
निर्वाचनपछि सभापति थापाले नेता तथा सांसदहरूको सुझावअनुसार सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको बताए । उनले अन्य आकांक्षीहरूको समेत आङ्देम्बेको पक्षमा समर्थन रहेको दाबी गर्दै कांग्रेसको परम्परा अनुसार संसदमा प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित नेता आङ्देम्बेले संख्याभन्दा विचारका आधारमा संसदमा सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले सरकारका राम्रा कामलाई समर्थन गर्दै गलत दिशामा गएको खण्डमा सचेत गराउने उल्लेख गरे । साथै, आगामी २४ घण्टाभित्र संसदीय दलका पदाधिकारी चयन गरिने जानकारी दिए ।
यसअघि सोमबार नै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति थापाको प्रस्तावमा आङ्देम्बेलाई दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
विसं २०६४ पछि कांग्रेसले पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको हो ।