चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगंज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयात १०२ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, अघिल्लो वर्षको तुलनामा एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधनको आयात शतप्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४८ करोड रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको थियो ।
चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ४८ करोड रुपैयाँ बराबरका १७२ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका थिए ।
त्यसैगरी, चालु आर्थिक वर्षमा ९६ करोड रुपैयाँ बराबरका सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ५५ करोड रुपैयाँ बराबरका चार हजार २२७ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा ५३ करोड रुपैयाँ बराबरका चार हजार ६०६ वटा विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड रुपैयाँ बराबरका तीन हजार ६१३ वटा विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन आयात भएका थिए ।
विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षण, इन्धनको बढ्दो मूल्य तथा वातावरणमैत्री यातायात साधनप्रतिको जनचासोका कारण आयातमा उल्लेख्य वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।