धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा बनाइएको अस्थायी बाँध (डाइभर्सन) भत्किँदा आवागमन अवरुद्ध भएको छ । कमला पुल नजिक निर्माण गरिएको उक्त डाइभर्सन वर्षापछि पानीको सतह बढेपछि भत्किएको हो । गत आइतबार बिहान परेको वर्षासँगै कमला नदीमा पानीको बहाव अचानक बढेको थियो। पानीको सतह बढ्दै करिब ३०० मिटर लामो डाइभर्सनको सतहभन्दा करिब तीन फिट माथिसम्म पुगेपछि अत्यधिक दबाबका कारण बीचैबाट भत्किएको जनाइएको छ ।
डाइभर्सन भत्किएसँगै दुवैतर्फ सयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । प्रशासनको पहलमा ती सवारी साधनलाई उद्धार गरिएको स्थानीयले बताएका छन् । कमला नगरपालिका–५ का वडाध्यक्ष शिवा पासवानका अनुसार पानीको सतह डाइभर्सनभन्दा करिब तीन फिट माथिसम्म पुगेको थियो ।
हाल पानीको सतह केही घटेर एकदेखि डेढ फिटसम्म झरेको छ । मंगलबारदेखि पैदल यात्रुहरूले जोखिम मोलेर सामान्य रूपमा आवागमन सुरु गरेका छन्, तर सवारी साधन सञ्चालन अझै हुन सकेको छैन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले डाइभर्सन भत्किएको जानकारी पाएलगत्तै जेसीबीमार्फत माटो हाल्ने काम सुरु गरिएको बताए । उनले पानीको बहाव घटेसँगै बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
कमला पुल निर्माणमा ढिलासुस्ती र प्राविधिक कमजोरीका कारण समस्या लामो समयदेखि कायम छ । करिब १४ वर्षदेखि निर्माणाधीन उक्त पुल २०७८ असार १४ गते उद्घाटन गरिएको थियो । तर उद्घाटनको तीन दिनमै आएको बाढीले पुलका तीन स्पान भासिएपछि पुल प्रयोगविहीन बनेको थियो ।
त्यसयता करिब पाँच वर्ष बितिसक्दा पनि मर्मत कार्य सम्पन्न हुन सकेको छैन । हुलाकी राजमार्ग आयोजनाले डिजाइनमै कमजोरी रहेको स्वीकार गर्दै नयाँ डिजाइन अनुसार पुनः निर्माणको काम अघि बढाइरहेको जनाएको छ । चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि स्थानीयहरू भने अझै विश्वस्त हुन सकेका छैनन् ।
पुल अभावका कारण स्थानीय बासिन्दा लामो समयदेखि बाँसको चचरी प्रयोग गरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। पुल निर्माणपछि सहज आवागमनको आशा जागे पनि पुल भासिएपछि अवस्था फेरि पुरानै जोखिमपूर्ण स्थितिमा फर्किएको छ ।
स्थानीयको गुनासोपछि गएको पुस महिनामा अस्थायी समाधानका रूपमा डाइभर्सन निर्माण गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निरीक्षणपछि चचरीको विकल्पस्वरूप डाइभर्सन बनाइएको थियो ।
तर सामान्य वर्षाले नै उक्त अस्थायी संरचना टिक्न नसक्दा आगामी बाढीको जोखिम अझै बढेको देखिएको छ ।
वि.सं. २०६८ जेठमा लुम्बिनी जेभीसँग करिब १४ करोड ९१ लाख रुपैयाँमा पुल निर्माण सम्झौता गरिएको थियो । २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने योजना सात पटक म्याद थपिँदै लागत बढेर २० करोड ४३ लाख रुपैयाँ नाघिसकेको छ । यद्यपि अन्तिम लागत कति पुग्ने भन्ने अझै टुंगो लागेको छैन ।
हालको अवस्थाले स्थानीय जनजीवन कष्टकर बनेको छ भने विकास निर्माणमा भएको ढिलासुस्ती र कमजोर व्यवस्थापनप्रति प्रश्न उठिरहेका छन् ।