जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभर हावाहुरीसहित वर्षा हुने चेतावनी दिएको छ।
गत शनिबारदेखि नै देशका विभिन्न स्थानमा वर्षा र बदलीको अवस्था देखिँदै आएकोमा मंगलबार रातिदेखि प्रि–मनसुन थप सक्रिय हुने देखिएको छ। पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षाको सम्भावना बढेको हो।
महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहनेछ। उनका अनुसार मंगलबार रातिदेखि कोशीका धेरै स्थान तथा मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षा सुरु भई बुधबार देशभर फैलिने सम्भावना छ।
बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बिहीबार भने मौसममा केही सुधार आउने सम्भावना रहेको छ। बिहीबार दिउँसो हिमाली र पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
बुधबार साँझ देशका विभिन्न क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।