सर्लाहीको बागमती नगरपालिका क्षेत्रमा मानव कङ्काल फेला परेको छ ।
बागमती नगरपालिका–१२ स्थित भरत ताल नजिकै, तालको उत्तरतर्फ ढुङ्गा र गिट्टी थुपारिएको स्थानमा कङ्काल अवस्थामा शव भेटिएको हो । घाँस काट्न गएका स्थानीयवासीले कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार शव टाउको छुट्टिएको र शरीर पनि पूर्ण रूपमा क्षतविक्षत अवस्थामा फेला परेको छ ।
प्रारम्भिक रूपमा शवमा रहेका कपडाका आधारमा पुरुषको हुन सक्ने अनुमान गरिएको छ । फेला परेको मानव कङ्काल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार मृतकको पहिचान खुलाउन तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।