रौतहटको गरुडा नगरपालिकामा कार्यरत लेखापाल सत्यनारायण सहनीले विवाह समारोहमा बन्दुक पड्काएको घटनापछि उनीमाथि कारबाहीको माग उठ्न थालेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सहनीले बन्दुक चलाएको दृश्य देखिएपछि व्यापक आलोचना भइरहेको छ । गरुडा नगरपालिका–३ मलाही टोलस्थित आफन्तको छोरीको विवाह समारोहमा सहनीले बन्दुक पड्काएको भिडियो सार्वजनिक भएको हो । सोही भिडियोमा उनीसँगै रहेका अर्का एक व्यक्तिले पनि बन्दुक चलाएको देखिन्छ । घटनाक्रमका क्रममा बन्दुकको गोली लागेर विवाहमा प्रयोग गरिएको महँगो ड्रोन क्यामेरा समेत क्षतिग्रस्त भएको बताइएको छ । लाखौँ रुपैयाँ मूल्य पर्ने उपकरण नष्ट भएपछि सामाजिक सञ्जालमा आलोचना झन् तीव्र बनेको छ ।
सरकारी पदमा रहेका व्यक्तिले सार्वजनिक समारोहमा हतियार प्रयोग गर्नु तथा बन्दुकको लाइसेन्सबारे प्रश्न उठ्न थालेपछि यस विषयले थप चासो पाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले घटनाबारे जानकारी आएको पुष्टि गर्दै यस विषयमा जिल्ला सुरक्षा समितिको बैठकमा छलफल गरिने बताएका छन् । यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले सामाजिक सञ्जालमा भिडियो देखिएको जनाउँदै घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएका छन् ।
गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवारले सहनीसँग लाइसेन्स प्राप्त बन्दुक रहेको बुझिए पनि विवाह समारोहमा प्रयोग गरिएको हतियार सोही हो वा होइन भन्ने विषय अझै स्पष्ट नभएको बताएका छन् ।
यस घटनाले सरकारी कर्मचारीको आचरण, सार्वजनिक सुरक्षा र कानुनी कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीयवासीले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।