सानो रकमको ऋणलाई ठूलो ‘जाल’ बनाउँदै ९१ लाख रुपैयाँ असुल्ने प्रयास गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–२ निवासी ३५ वर्षीय विपेन्द्र कुमार साह र जनकपुर उपमहानगरपालिका–२१ का दिनेश साह सोनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार दुवैलाई बुधबार नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार गढीमाई नगरपालिका–९ का तारकेश्वर सहनीले करिब एक वर्षअघि घरायसी आवश्यकताका लागि विपेन्द्र साहसँग २ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए । सो ऋणको सुरक्षाका लागि उनले लुम्बिनी विकास बैंकको खाली चेकमा हस्ताक्षर गरेर दिएका थिए ।
सहनीले विभिन्न मितिमा गरी २ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसकेका थिए भने बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति जनाएका थिए । तर, आफ्नो चेक फिर्ता माग्दा विपेन्द्र साहले उल्टै ९१ लाख रुपैयाँ बाँकी रहेको दाबी गर्दै चेक बाउन्स मुद्दामा फसाउने धम्की दिएको प्रहरीको भनाइ छ ।
पीडितको उजुरीपछि गरिएको अनुसन्धानमा विपेन्द्र साह र दिनेश साह सोनारबीच मिलेमतो भएको खुलेको छ । उनीहरूले हस्ताक्षर गरिएको खाली चेकमा अनाधिकृत रूपमा ९१ लाख रुपैयाँ भरेर चेक बाउन्स गराउने प्रक्रिया अघि बढाएको पाइएको प्रहरीले जनाएको छ ।
दुवैविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मधेश प्रदेशमा ऋण लेनदेनका क्रममा साँवाको तीन–चार गुणा रकम उल्लेख गरी तमसुक वा चेक लिने प्रवृत्ति देखिए पनि यसरी खाली चेक दुरुपयोग गरी ठूलो रकम असुल्ने प्रयास भने कमै देखिने गरेको छ ।