बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ ।
आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई संरचना हटाउन आग्रह गरिसकेको थियो । तर, सूचना जारी भए पनि अतिक्रमित संरचना नहटाइएकाले अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको बागमती सिँचाइ आयोजना कर्मैयाका आयोजना प्रमुख सन्तोष चौधरीले जानकारी दिएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा स्थानीयले करिब २८ वर्षदेखि नहरको जमिन अतिक्रमण गरी बसोबास गर्दै आएका छन् । केही दिनभित्र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल तथा सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
करिब साढे तीन सयदेखि चार सयसम्म घरटहरा हटाइने जनाइएको छ । जलस्रोत तथा सिँचाइ विभागको निर्देशन तथा नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीअनुसार सार्वजनिक जग्गा संरक्षण, डिजिटल अभिलेख तयारी, निगरानी सुदृढीकरण र अवैध कब्जा हटाउने अभियानअन्तर्गत यो कदम चालिएको हो ।
आयोजना प्रमुख चौधरीका अनुसार चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीदेखि गुजरा नगरपालिकाको धन्सार खोलासम्म मूल नहर क्षेत्रको १२५ मिटर क्षेत्र खाली गर्नुपर्नेछ, जसमा पूर्वतर्फ ६५ मिटर र पश्चिमतर्फ ६० मिटर क्षेत्र समेटिन्छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि नहर अतिक्रमण चाँडै हटाइने स्पष्ट पार्दै स्वतः नहटाए संरचना भत्काइने बताएका छन् ।
रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले नहर व्यवस्थापन र सिँचाइ विस्तारका लागि यस्तो निर्णय आवश्यक रहेको बताएका छन् । बागमती सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
साथै, सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट थप पानी ल्याई सिँचाइ क्षेत्र विस्तार गर्ने योजना पनि अघि बढाइएको छ । नहर क्षेत्रमा बसोबास गर्ने वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
यता स्थानीयवासीहरूले भने आफूहरू वास्तविक सुकुमबासी भएकाले उचित व्यवस्थापनको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।