सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुर जुटपानी क्षेत्रमा भाडाको घरमा लुकिछिपी सञ्चालन भइरहेको अवैध गर्भपतन क्लिनिकमा प्रहरीले छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ निवासी ४५ वर्षीय लालबाबु राय यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवलाई नियन्त्रणमा लिएर म्याद थप गरिएको छ । हाल उनलाई ईलाका प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार कुनै पनि निकायमा दर्ता तथा अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको सूचनाका आधारमा कारबाही गरिएको हो । स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाका अनुसार अनुगमनका क्रममा उक्त स्थानबाट गर्भपतनमा प्रयोग हुने औजार तथा औषधि बरामद गरिएको छ । क्लिनिक नवजीवन विद्याश्रम नजिक बोर्डसमेत नराखी सञ्चालन भइरहेको खुलेको छ ।
सूचना पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबार उक्त स्थानमा छापा मार्दा अवैध गतिविधि फेला परेको थियो । टोलीले क्लिनिक तत्काल सिल गरी सञ्चालकलाई प्रहरीको जिम्मा लगाएको हो ।
यसैबीच, नवलपुर र मलङ्गवा क्षेत्रमा स्वास्थ्य संस्थामाथि निगरानी पनि कडा पारिएको छ । लालबन्दी नगरपालिका–१ क्षेत्रमा गरिएको अनुगमनका क्रममा १३ वटा स्वास्थ्य संस्था तथा औषधि पसल जाँच गर्दा पाँच वटा सिल गरिएको, एकलाई जरिवाना गरिएको र दुईलाई सात दिनभित्र कागजात पूरा गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।