यातायात व्यवस्था कार्यालय कलैयाले वैशाख १७ गतेदेखि स्मार्ट ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ ।
यातायात व्यवस्था विभागबाट छपाइ भई आएका नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण तथा प्रतिलिपिसम्बन्धी स्मार्ट कार्डहरू सेवाग्राहीलाई वितरण गर्न थालिएको कार्यालयले जनाएको छ ।
लामो समयदेखि केवल रसिदको आधारमा सवारी चलाउन बाध्य रहेका बारा तथा आसपास क्षेत्रका सेवाग्राहीहरूका लागि यस कदमले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालयले वितरण प्रक्रियालाई सहज बनाउन विशेष व्यवस्था समेत मिलाएको जनाएको छ ।
त्यसैगरी, आगामी वैशाख १८ देखि २० गतेसम्म पर्ने सार्वजनिक बिदाका दिनहरूमा पनि लाइसेन्स वितरण कार्य निरन्तर सञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।