आफ्नै बाबुको हत्या गरी करिब १८ वर्षदेखि फरार रहेका एक आरोपी अन्ततः पक्राउ परेका छन् ।
रौतहट प्रहरीले चितवनबाट उनलाई नियन्त्रणमा लिँदै वर्षौँदेखि रहस्यमा रहेको पारिवारिक हत्याकाण्ड सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ (साबिक जयमनगर–४) मा ६८ वर्षीय विशेष महतो कोईरीको हत्या भएको घटनामा संलग्न उनका कान्छा छोरा राम बिलास महतो रहेको खुलेको छ ।
प्रहरीका अनुसार आर्थिक संकट, ऋणको चाप तथा जग्गा विवादबाट छुटकारा पाउने उद्देश्यले उनले योजनाबद्ध रूपमा बाबुको हत्या गरेका थिए । प्रारम्भिक अनुसन्धानअनुसार बाबु सुतिरहेको अवस्थामा हातखुट्टा बाँधी धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरिएको थियो ।
प्रहरीले हत्या पछि ऋण तिर्नु नपर्ने र अन्य निर्दोष व्यक्तिलाई ज्यान मुद्दामा फसाउने उद्देश्यसमेत रहेको दाबी गरेको छ । घटनापछि केही दिनमै परिवारसहित फरार भएका महतोलाई प्रहरीले वैशाख १६ गते चितवनबाट पक्राउ गरेको हो । हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।
यो घटनाले पारिवारिक सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ भने लामो समयपछि आरोपी पक्राउ पर्नुले न्याय प्रक्रियाप्रति विश्वास बढाएको देखिन्छ ।