नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट सेवाग्राहीलाई प्रलोभनमा पारी दुःख दिने ४ सय १७ जना बिचौलियालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट १ सय २३ जना रहेका छन् । त्यस्तै बागमती प्रदेशबाट ७६, मधेश प्रदेशबाट ५०, कोशीबाट ४५, लुम्बिनीबाट ४४, सुदूरपश्चिमबाट २८, गण्डकीबाट २७ र कर्णाली प्रदेशबाट २४ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये १ सय २१ जनाविरुद्ध मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ भने बाँकी २ सय ९६ जनालाई आवश्यक छानबिनपछि छाडिएको प्रहरीले जनाएको छ ।
नागरिकमैत्री, पारदर्शी र बिचौलियामुक्त सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रहरीले देशभरका सरकारी कार्यालयहरूमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।