स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्ने सरकारी योजनामा जीतपुरसिमरा उपमहानगरपालिकासहित देशभरका २०७ पालिकाले रुचि देखाएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वैशाख १० गते इच्छुक स्थानीय तहसँग प्रस्ताव आह्वान गरेअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले पनि सेवा सञ्चालन गर्न औपचारिक रूपमा निवेदन दिएको हो । मालपोत र नापी सेवा प्रवाहका लागि मन्त्रालयमा निवेदन पेश गर्ने विषयमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको थियो ।
मन्त्रालयका अनुसार बिहीबारसम्म जीतपुरसिमरा उपमहानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकासहित २०७ पालिकाले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्न इच्छुक रहेको जानकारी गराएका छन् ।
चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने योजनाअनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गरिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।