सार्वजनिक तथा सरकारी जग्गामा बढ्दो अतिक्रमणप्रति कडा रुख अपनाउँदै बाराको कलैया उपमहानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन ३५ दिनभित्र त्यस्ता जग्गा खाली गर्न सर्वसाधारणलाई निर्देशन दिएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गाहरूको संरक्षण, व्यवस्थापन र दीगो उपयोग सुनिश्चित गर्न यो कदम चालिएको जानकारी दिएका हुन् ।
सूचनामा भनिएको छ, “सार्वजनिक हित विपरीत हुने गरी सडक, नाला, खुला स्थान, पार्क, विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी संरचना वरपर अतिक्रमण गरी निर्माण गरिएका टहरा, घर तथा अन्य संरचनाहरू ३५ दिनभित्र स्वयं हटाउन अनुरोध गरिन्छ ।”
उपमहानगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने स्थानीय सरकार ऐन तथा प्रचलित कानुनअनुसार बल प्रयोग गरी हटाइने र त्यसबाट हुने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी समेत दिएको छ ।
पछिल्लो समय कलैया क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणको समस्या बढ्दै गएको गुनासो बढेपछि नगरपालिकाले यसलाई नियन्त्रण गर्न अभियानकै रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ ।