जिल्ला प्रशासन कार्यालय बारा ले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रक्रियालाई सहज बनाउँदै नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि सेवाग्राहीहरूले अनलाइन आवेदन (प्रि-इनरोलमेन्ट) फाराम भर्नु नपर्ने भएको छ ।
गृह मन्त्रालय को गत चैत ८ गतेको निर्णयअनुसार केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता कायम भएसँगै यो सुविधा कार्यान्वयनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार २०८२ चैत ८ गते वा सोभन्दा पछि नागरिकता प्राप्त गरेका व्यक्तिहरूले अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन फाराम भर्नु नपर्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार नागरिकता प्राप्त गरेलगत्तै सेवाग्राही सिधै राष्ट्रिय परिचयपत्र शाखामा गएर आफ्नो विवरण दर्ता गराउन सक्नेछन् ।
तर, सो मितिभन्दा अगाडि नै नागरिकता प्राप्त गरेका नागरिकहरूको हकमा भने पुरानै व्यवस्था लागू रहनेछ । उनीहरूले अनिवार्य रूपमा अनलाइन फाराम भरेर मात्र सेवा लिनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले नयाँ व्यवस्थाले सेवाग्राहीको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।