सिन्धुलीको प्रहरी हिरासतमा एक युवकको मृत्यु भएको घटनामा प्रहरी निरीक्षकसहित दुई जनामाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेश गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त भुजेल र घटना भएको दिन हिरासत कक्षमा ड्युटीमा रहेका एक प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरेको हो ।
डीआईजी दिनेश आचार्यको नेतृत्वमा गठित समितिले प्रतिवेदन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बुझाएको थियो । उक्त प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा पठाइएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लिडाँडाका २३ वर्षीय श्रीकृष्ण विकलाई वैशाख ३ गते ललितपुरबाट पक्राउ गरी सिन्धुली ल्याइएको थियो । उनी इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका बेला वैशाख ७ गते साँझ शौचालयमा आफैंले लगाएको सर्टको पासो प्रयोग गरी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ ।
तर, मृतकका आफन्त तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारलगायतले घटनालाई हत्या भएको आरोप लगाउँदै आएका छन् ।
छानबिन समितिले भने श्रीकृष्ण विकको मृत्यु झुन्डिएर भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको जनाइएको छ ।