सर्लाहीमा हेल्मेट नलगाई तथा तीव्र गतिमा मोटरसाइकल चलाउने प्रवृत्ति बढ्दै जाँदा गम्भीर सडक दुर्घटनाका घटना बढ्न थालेका छन् । पछिल्लो एक साताभित्र भएका छुट्टाछुट्टै दुर्घटनामा दुई मोटरसाइकल चालक र एक साइकलयात्रीको ज्यान गएको छ ।
बरहथवा–मधुवनी सडकखण्ड अन्तर्गत रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा मङ्गलबार साँझ ज.७ प २६१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको सीतामढी निवासी ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार हेल्मेट नलगाएका पटेलको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनास्थलको अवस्था हेर्दा मोटरसाइकल तीव्र गतिमा रहेको अनुमान गरिएको छ । मोटरसाइकल कलभर्टमा ठोक्किँदा सिमेन्टको बारसमेत भत्किएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ ।
प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार साँघुरो एकतर्फी कलभर्टमा तीव्र गतिका कारण चालकले मोटरसाइकल नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी टोली घटनास्थल पुग्दा चालकको टाउको र अनुहारमा गहिरो चोट लागेको तथा कानबाट रगत बगिरहेको अवस्था थियो ।
दुर्घटनामा पछाडि सवार भारतकै २३ वर्षीय उज्ज्वल पटेल गम्भीर घाइते भएका छन् । उनी अचेत अवस्थामा फेला परेका थिए र हाल भारतको सीतामढीस्थित अस्पतालको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार गौरव र उज्ज्वल गडहिया चोकस्थित एक होटलमा खाजा खाएर निस्किएका थिए। उनीहरूले होटलकै मोटरसाइकल मागेर चलाएको खुलेको छ ।
यसअघि गत बिहीबार बिहान हरिपुर्वा नगरपालिका–९ खिलागाउँनजिक बाँके–सङ्ग्रामपुर सडकमा बस र मोटरसाइकल ठोक्किँदा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी २७ वर्षीय मनिषकुमार महतोको मृत्यु भएको थियो । प्रहरीले उनी पनि हेल्मेट नलगाएको जनाएको छ ।
त्यस्तै, गत आइतबार साँझ ईश्वरपुर नगरपालिका–२ राइटरखोरमा तीव्र गतिमा रहेको भारतीय नम्बर प्लेटको मोटरसाइकलले साइकलयात्री ६५ वर्षीय किसुनदेव साहलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार दुर्घटनामा परेका अधिकांश मोटरसाइकल चालकसँग लाइसेन्स नभएको र हेल्मेट प्रयोग नगरेको पाइएको छ ।
उहाँले ग्रामीण क्षेत्रमा हेल्मेटलाई मोटरसाइकलको ‘ले–गार्ड’ मा झुन्ड्याएर हिँड्ने, एकै मोटरसाइकलमा तीन–चार जनासम्म चढ्ने तथा प्रहरी देखेपछि भाग्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । “बारम्बार चेकजाँच र सचेतना कार्यक्रम सञ्चालन गर्दा पनि लापर्बाही कम हुन सकेको छैन,” प्रहरी निरीक्षक साहले भन्नुभयो, “प्रहरी देख्नेबित्तिकै धेरै चालक भाग्ने प्रयास गर्छन् ।”
उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयाससँगै अभिभावक, विद्यालय, स्थानीय समाज तथा जनप्रतिनिधिहरूले समेत जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।