सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट तथा फेर एण्ड लब्लीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाकाे आधारमा सिरहाको नवराजपुर गाउँपालिका क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले स १ ख ५३५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ अवैध रूपमा सामान तस्करी गर्न लागिएको आशङ्कामा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
ट्रक नियन्त्रणमा लिने क्रममा प्रहरी र तस्कर समूहबीच झडपसमेत भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले जनाएको छ । नियन्त्रणमा लिइएको ट्रक हाल सिरहाको सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाको कार्यालयमा राखिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम बाबु यादवका अनुसार बरामद सामानको यकिन परिमाण तथा मूल्याङ्कन कार्य भइरहेको जनाएकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी यादवले बताएका छन् ।