नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता र सहकार्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी मिलाउने प्रयास नभएको भन्ने टिप्पणीप्रति चित्त दुखाइ व्यक्त गरेका हुन् । उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि हाल केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई पनि सम्मानजनक रूपमा समेटेर काम गर्न आफू तयार रहेको बताए । ‘१४ औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो पंक्ति अहिले समितिभन्दा बाहिर हुनुहुन्छ,’ थापाले भने, ‘उहाँहरूलाई केन्द्रीय समितिभित्र ल्याएर, आवश्यक परे वरिष्ठ नेता बनाइ सम्मानका साथ सँगै काम गर्न चाहन्छु । यो मेरो प्रस्ताव हो ।’
उनले निर्वाचन समिति, सदस्यता जाँचबुझ समिति तथा अनुशासन समितिमा पनि सबै पक्षलाई समेटेर निष्पक्षता सुनिश्चित गर्न आफू तयार रहेको बताए ।
थापाले निर्वाचन समिति प्रेमबहादुर खड्काको अध्यक्षतामा गठन भएको उल्लेख गर्दै आवश्यक परे अन्य सदस्य थप्न सकिने बताए । यस्तै, महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता जाँचबुझ समितिमा पनि थप सदस्य राख्न सकिने उनको भनाइ थियो । अनुशासन समितिको नेतृत्व तारामान गुरुङले गरिरहेको उल्लेख गर्दै उनले त्यहाँ पनि छलफलमार्फत सहमति खोज्न सकिने स्पष्ट पारे ।
पार्टीभित्र अवसर वितरणमा कुनै विभेद नहुने उनको भनाइ थियो । विशेष महाधिवेशनबाट आएको वा नआएको आधारमा कसैलाई पनि पार्टी निर्णय वा जिम्मेवारीबाट वञ्चित नगर्ने उनले स्पष्ट पारे । ‘पार्टीका निर्णय चाहे प्रदेश सरकार, संसदीय दल, स्थानीय सरकार वा भातृसंस्था सम्बन्धी किन नहोस्, कुनै पनि निर्णय त्यो आधारमा हुँदैन,’ उनले भने ।
थापाले नेताहरूलाई मिलाउने प्रयास नगरेको भन्ने आरोपप्रति असन्तुष्टि जनाउँदै आफूले पटक–पटक आग्रह गरेको दाबी गरेका छन् ।