धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित सुनौलो बस्तीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्युरो बर्दिवास (महोत्तरी) को संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका–७ घर भई हाल मिथिला नगरपालिका–१०, लालगढमा बस्दै आएका ३० वर्षीय विजय लिम्बु, बर्दिवास नगरपालिका–१ निवासी २८ वर्षीय सुमन बुढाथोकी र सोही स्थानमा बस्दै आएका अन्दाजी २७ वर्षीय सागर भनिने मनकुमार लिम्बु रहेका छन् । प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार विजय लिम्बुले भाडामा बस्दै आएको घरमा रीतपूर्वक खानतलासी गर्दा ओछ्यानमुनि लागुऔषध फेला परेको हो । उनले उक्त घरबाट लागुऔषध बिक्री वितरण हुने गरेको सूचनाका आधारमा खानतलासी गरिएको जानकारी दिए ।
खानतलासीका क्रममा ओछ्यानमुनि र पक्राउ परेकाहरूको साथबाट टेन्टाडोल १०० एमजीका ९२ वटा र स्पासरेस्टका ८३ वटा गरी जम्मा १७५ वटा ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, नगद १५ हजार ५२० रुपैयाँ र लागुऔषध सेवनमा प्रयोग भएका खोलसमेत बरामद गरिएको छ ।
पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।