भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ ।
भारतको यो नीतिगत कडाइका कारण वार्षिक पाँचदेखि छ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गर्दै आएको नेपालको चिया उद्योग गम्भीर सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन् ।
नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो । उक्त प्रावधानले नेपाली निर्यातकर्तामाथि प्रशासनिक तथा आर्थिक बोझ थपिएको उनले बताए ।
“चिया निर्यातको मुख्य याम चलिरहेको छ । अहिले करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा छ,” अध्यक्ष पराजुलीले भने, “तर भारतीय पक्षको नयाँ र कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजाने आँट गर्न सकेका छैनन् । दुई सातादेखि एक पोका चिया पनि निर्यात हुन सकेको छैन ।”
यसअघि नेपाली चिया निर्यातका लागि कुनै उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहज रूपमा भारत पठाउन सकिने व्यवस्था थियो ।
तर नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्ङ्की भन्सार प्रवेश गर्नेबित्तिकै प्रत्येक ट्रकबाट चियाको नमूना लिएर भारत सरकारबाट मान्यता प्राप्त प्रयोगशालामा परीक्षणका लागि पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिट्रक नमूना परीक्षणका लागि १८ हजार रुपैयाँ शुल्क लाग्नेछ भने परीक्षण प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने जनाइएको छ । भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन प्रणालीमा प्रतिवेदन प्रविष्ट गर्नेछ । परीक्षण असफल भएमा उक्त चियालाई भारतीय बजारमा बिक्री गर्न वा अन्य देशमा निर्यात गर्नसमेत नदिई जफत गरिने प्रावधान राखिएको छ ।
“हरेक ट्रकको नमूना परीक्षणमा महँगो शुल्क र लामो समय लाग्ने नियमले निर्यातमा पूर्ण अवरोध सिर्जना गरेको छ,” पराजुलीले भने, “यदि नियम संशोधन भएन भने नेपाली चियाको भारत निर्यात सधैँका लागि बन्द हुन सक्छ ।”
नेपाली चियाको मुख्य बजार भारत नै रहँदै आएको छ । तर प्रयोगशालाको प्रतिवेदन नआउञ्जेल १० देखि १४ दिनसम्म लोड भएका ट्रक सुरक्षित रूपमा राख्न पर्याप्त पार्किङ स्थल तथा पूर्वाधार पानीट्ङ्की भन्सार क्षेत्रमा नभएको व्यवसायीहरूको गुनासो छ । चिया क्षेत्रमा देखिएको यो गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग तत्काल सरकार–सरकार (जिटुजी) तहमा संवाद सुरु गर्नुपर्ने नेपाल चिया उत्पादक सङ्घको माग छ ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया विश्व बजारमा गुणस्तरका हिसाबले लोकप्रिय मानिन्छ । तर प्रमुख बजार भारतमै नीतिगत अवरोध सिर्जना हुँदा किसानदेखि उद्योगी र यस क्षेत्रमा आश्रित लाखौँ श्रमिकको जीविकोपार्जन प्रभावित हुने चिन्ता बढेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मुलुकको २० हजार ६०२ हेक्टर क्षेत्रफलमा फैलिएको चिया बगानबाट दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो । सोही अवधिमा नेपालबाट चार अर्ब ५९ करोड आठ लाख ५६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको तथ्याङ्क छ ।
हाल नेपालभर १७० वटा ठूला चिया बगान तथा १२० वटा साना तथा मझौला चिया बगान सञ्चालनमा छन् । चिया उत्पादनमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष संलग्न छन् भने करिब एक लाख श्रमिकले बगानदेखि उद्योगसम्म रोजगारी पाउँदै आएका छन् ।