हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम सफा रहने जनाइएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेससहित अन्य पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।