सप्तरीको राजविराजस्थित एक संस्थागत विद्यालयले मनपरी रूपमा शुल्क असुलेको भन्दै अभिभावकहरूले विरोध जनाएका छन् ।
राजविराज नगरपालिका–३ स्थित ह्यापील्यान्ड सेकेन्डरी स्कुलले विभिन्न शीर्षकमा चर्को शुल्क लिएको आरोप लगाउँदै अभिभावकहरूले मंगलबार विद्यालयमै पुगेर विरोध प्रदर्शन गरेका हुन् । अभिभावकहरूले अतिरिक्त रूपमा असुलिएको शुल्क फिर्ता नगरे विद्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरूका अनुसार कक्षा ८ सम्मका विद्यार्थीबाट वार्षिक शुल्कबापत जनही ५ हजार रुपैयाँ र कक्षा ९ तथा १० का विद्यार्थीबाट ६ हजार रुपैयाँ असुल गरिएको छ ।
त्यस्तै, परीक्षा शुल्कबापत प्रति विद्यार्थी २ हजार रुपैयाँ, मासिक शुल्क २ हजार ५०० देखि ४ हजार १०० रुपैयाँसम्म तथा कम्प्युटर शुल्कबापत ३५० रुपैयाँ लिइएको अभिभावकहरूको गुनासो छ ।
अभिभावक दीपेन्द्र दासका अनुसार सरकारले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्देशन दिए पनि विद्यालयले वैशाख १ गतेदेखि नै मासिक शुल्क जोडेर असुली गरेको छ ।अर्का अभिभावक अशोक साहले वार्षिक परीक्षा हुन अझै एक वर्ष बाँकी रहँदा पनि प्रति विद्यार्थी २ हजार रुपैयाँका दरले परीक्षा शुल्क लिइनु अनुचित भएको बताउनुभयो ।
विद्यालयले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गराएर अभिभावकमाथि थप आर्थिक भार पारिएको भन्दै सम्बन्धित निकायसँग छानबिनको माग गरिएको छ । विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुर र सञ्चालक पुष्प सिटौलाले बुधबार बिहान अभिभावकसँग बृहत् बैठक बसेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले वैशाख २१ गतेबाट मात्रै पठनपाठन सुरु हुने भएकाले त्यसअघिको शुल्क लिन नपाइने बताउनुभएको छ । उहाँले नगरभित्रका विद्यालयको स्तरीकरण गरी केही महिनाभित्र निजी तथा संस्थागत विद्यालयको शुल्क निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।