सर्लाहीको महेन्द्र राजमार्गअन्तर्गत बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बुधबार अपरान्ह हरिवनबाट बागमतीतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको DL 4 C NB 6200 नम्बरको भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
स्कारपियोमा सवार आठ जना घाइते भएका छन् । घाइतेमध्ये चालक कविलासी नगरपालिका–८ का ५७ वर्षीय जयपाल राय रहेका छन्। त्यसैगरी ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका ५८ वर्षीय शिवशङ्कर हलुवाई, उहाँकी श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनु प्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी, तथा उनका छोराहरू ९ वर्षीय कन्हैया र ५ वर्षीय किसन घाइते भएका छन् । साथै शिवशङ्करका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई पनि घाइते भएका छन् ।
दुर्घटनामा घाइते चालक बाहेक अन्य सात जना एकै परिवारका रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको बागमती मोडेल अस्पताल, कर्मैयामा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिएका छन् ।