विपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढाइएको छ । विपक्षीको अवरोधका कारण दिउँसो करिब १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएलगत्तै विभिन्न दलका सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।
नाराबाजीका बीच पनि बैठक सञ्चालन गर्दै सभामुख डीपी अर्यालले कानुनमन्त्री सोविता गौतमलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए । प्रधानमन्त्री बालेन शाहका तर्फबाट विधेयक पेस गरिएको बताइएको छ ।
कानुनमन्त्री गौतमले सुरुमा “प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरिन् । त्यसपछि उनले “मतदाता नामावली सम्बन्धी विधेयक, २०८३” पनि पेस गरिन् ।
विपक्षी दलहरूले भने प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर आफूहरूले उठाएका प्रश्नको जवाफ नदिएसम्म सदन सञ्चालन गर्न नदिने अडान लिँदै निरन्तर विरोध जनाइरहेका छन् ।