लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ ।
अनियन्त्रित उत्खनन भइरहेको भन्दै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा उजुरी दिएपछि लालबन्दी नगरपालिकाले प्राविधिक टोली खटाएर उत्खनन क्षेत्रको नापजाँच गरेको थियो । नापजाँचका क्रममा सम्झौताभन्दा १९ हजार घनमिटर बढी गिट्टी, बालुवा उत्खनन गरिएको पाइएपछि ठेक्का लिने कम्पनीलाई जरिबाना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल ले जानकारी दिए ।
कालिन्जोरखोलाका तीन वटा नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा नदीजन्य पदार्थ उत्खननका लागि कुण्डलिनी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि ले ठेक्का पाएको थियो । २०८२ पुस ९ गते नगरपालिका र कम्पनीबीच भएको सम्झौताअनुसारको परिमाण उत्खनन भइसकेकाले जेठ ४ गतेदेखि उत्खनन कार्य बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताए ।
सम्झौताविपरीत उत्खनन गरेको पाइएपछि नगरपालिका कार्यालयले कम्पनीलाई एक लाख २० हजार रुपैयाँ जरिबाना गरेको छ । साथै, अतिरिक्त १९ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननबापत थप ४४ लाख रुपैयाँ नगरपालिकालाई भुक्तानी गर्नुपर्ने नगरपालिकाको राजस्व शाखा प्रमुख गोपाल थापा ले जानकारी दिए ।
जेठ मसान्तसम्म उत्खननको ठेक्का रहे पनि नापजाँचका क्रममा सम्झौताअनुसारको परिमाण पहिले नै निकालिसकेको पाइएपछि करिब एक महिनाअघि नै उत्खनन बन्द गरिएको हो । उत्खनन रोकिएकोबारे नगरपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय तथा सुरक्षा निकायलाई समेत पत्राचार गरेको जनाएको छ । कालिन्जोरखोलामा मनपरी उत्खनन भइरहेको उजुरीपछि एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिकसहितको टोलीले समेत स्थलगत निरीक्षण गरेको थियो । अख्तियारले चासो देखाएपछि नगरपालिकाले आफ्नै प्राविधिक टोलीमार्फत उत्खनन क्षेत्रको नापजाँच गराएको हो ।
उत्खनन रोक्न निर्देशन दिएपछि उत्खननमा प्रयोग गरिएका दुई वटा टिप्पर नियन्त्रणमा लिएर कारबाही गरिएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।