रौतहटमा बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि सबै तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याइएको छ ।
बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बाघ संरक्षणमा आमनागरिकको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभयो ।
उहाँका अनुसार बाघ भएको क्षेत्र समृद्ध र सुन्दर जङ्गलको संकेत भएकाले बाघप्रति शत्रुतापूर्ण व्यवहार गर्नु नहुने धारणा राख्नुभयो ।
साहले रौतहटका विभिन्न वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको जानकारी दिँदै लमाहा नदी आसपास, धन्सार वनक्षेत्र, हातेमालो सामुदायिक वन, रङ्गपुर साझेदारी वनको सतियारी क्षेत्र, गैँडाटार, बागमतीको जुडिबेला, पौराई, रामलाल वृन्दावन साझेदारी वन तथा फतुवा विजयपुरस्थित नमस्ते सामुदायिक वन क्षेत्रमा बाघ देखिने गरेको उल्लेख गर्नुभयो ।
उहाँले बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल र बाह्रसिङ्गाजस्ता वन्यजन्तुलाई आहाराका रूपमा प्रयोग गर्ने जानकारी दिनुभयो । नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको उल्लेख गर्दै रौतहटमा पनि बाघ गणनाको कार्य भइरहेको र छिट्टै यथार्थ तथ्याङ्क सार्वजनिक हुने बताउनुभयो ।
कार्यक्रममा उहाँले पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी गराउँदै बाघ सामान्यतया मानिसबाट टाढा रहन चाहने तर आत्मरक्षा वा बच्चा जोगाउन आक्रमण गर्नसक्ने बताउनुभयो ।
रौतहटमा विगत केही वर्षयता बाघ आक्रमणका घटना पनि भएका छन् । विसं २०७७ असोज १४ गते चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । भण्डारीको शव जङ्गलमा कम्मरभन्दा तलको भाग खाएको अवस्थामा फेला परेको थियो । उनलाई खोज्न गएका दुई युवकसमेत बाघको आक्रमणबाट घाइते भएका थिए ।
त्यसैगरी, २०७८ असोज २१ गते चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाँस काट्न गएका बेला लमहा जङ्गल क्षेत्रमा बाघको आक्रमणबाट घाइते भएका थिए ।
यस्तै, २०८१ मङ्सिर १५ गते गुजरा नगरपालिका–१ मा आलुबारीमा पानी लगाउन गएकी बौराही चौधरीमाथि बाघले आक्रमण गरेको थियो । उनलाई बचाउन गएका वडा नम्बर १ का अध्यक्ष रामजीत चौधरीसमेत बाघको आक्रमणबाट घाइते भएका थिए ।