मधेस प्रदेशको धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध जोडिएको एकमहिने गेरुका स्नान मेलामा श्रद्धालुहरूको घुइँचो लागेको छ ।
प्रत्येक तीन वर्षमा एक पटक पर्ने पुरुषोत्तम मास (मलमास) का अवसरमा लाग्ने यो मेला जेठ ३ गतेदेखि सुरु भएसँगै महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित खुट्टा पिपरारी क्षेत्र भक्तजनको आगमनले भरिभराउ बनेको छ ।
धनुषा र महोत्तरी जिल्लाको सीमा क्षेत्रमा अवस्थित गेरुका धाममा बिहानैदेखि हजारौँ श्रद्धालु पवित्र स्नान, पूजा–आराधना तथा दर्शनका लागि पुग्ने गरेका छन् । रामायणकालीन इतिहाससँग जोडिएको मानिने यस धार्मिक स्थललाई मिथिला क्षेत्रको प्राचीन आस्थाको केन्द्रका रूपमा लिने गरिएको छ ।
स्थानीय जनविश्वास तथा धार्मिक ग्रन्थअनुसार माता सीताले समेत गेरुका नदीमा स्नान गर्नुभएको उल्लेख पाइन्छ । यही कारण मिथिलावासीले गेरुका नदीलाई अत्यन्त पवित्र मानेका छन् । विशेषगरी पुरुषोत्तम मासमा यहाँ स्नान गरे पापबाट मुक्ति मिल्ने, मनोकामना पूरा हुने तथा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ ।
मेलाको शुभारम्भका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा भगवान् राम र माता सीताको स्वरूपलाई गेरुका नदीमा लगेर विशेष पूजा गरिएको थियो । वैदिक मन्त्र, शंखध्वनि तथा भजन–कीर्तनबीच सम्पन्न धार्मिक अनुष्ठानले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो ।
स्थानीयवासी तपेश्वर यादवका अनुसार गेरुका धाममा मेला लाग्ने परम्परा सयौँ वर्ष पुरानो हो । कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थलमा अवस्थित यस धाममा प्राचीनकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आएको जनविश्वास रहेको उनले बताए ।
मधेस प्रदेशका आठवटै जिल्लाका साथै भारतको बिहार राज्यबाट समेत दैनिक हजारौँ श्रद्धालु यहाँ आउने गरेका छन्। मेला अवधिभर लाखौँ भक्तजनले स्नान गर्ने अनुमान गरिएको छ। विशेषगरी आइतबार र मंगलबार अत्यधिक भिड लाग्ने स्थानीयवासी बताउँछन्।
गेरुका मेला धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण प्रतीकका रूपमा रहेको जानकारहरू बताउँछन् । मेलाका बेला नदी किनारमा भजन–कीर्तन, साधुसन्तको प्रवचन तथा सामूहिक पूजा–आराधनाले सम्पूर्ण क्षेत्र धार्मिक उत्सवमा परिणत हुने गरेको छ ।
यस धार्मिक मेलाले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ। मेला अवधिभर अस्थायी बजार सञ्चालन हुने, पूजासामग्री, मिठाई, कपडा तथा स्थानीय परिकारको व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन्। होटल, यातायात तथा साना व्यवसायीले पनि राम्रो आम्दानी गर्ने गरेका छन् ।
यद्यपि गेरुका धाममा आवश्यक पूर्वाधारको अभाव रहेको स्थानीयवासीको गुनासो छ। व्यवस्थित सडक, पार्किङ, खानेपानी, शौचालय, विश्रामस्थल तथा स्वास्थ्य सेवाको पर्याप्त व्यवस्था हुन नसकेको उनीहरूको भनाइ छ। श्रद्धालुको सुरक्षाका लागि स्थानीय प्रशासनले अस्थायी प्रहरी सहायता कक्ष, स्वास्थ्य शिविर तथा स्वयंसेवक परिचालन गरेको जनाएको छ।
लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्रकुमार यादवले गेरुका धामको दीर्घकालीन विकासका लागि योजना निर्माणबारे छलफल भइरहेको जानकारी दिए । धार्मिक पर्यटन प्रवर्द्धनमार्फत मधेस प्रदेशको आर्थिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
मिथिला संस्कृतिका अध्येताहरूका अनुसार गेरुका धाम धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र सामाजिक एकताको महत्त्वपूर्ण केन्द्र हो ।
आधुनिक जीवनशैलीको विस्तार भए पनि परम्परागत धार्मिक विश्वासप्रति जनआस्था अझै बलियो रहेको दृश्य गेरुका मेलामा प्रस्ट देख्न सकिन्छ ।