मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु भएपछि घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरिएको छ ।
शनिबार मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गी लाल राय को अध्यक्षतामा बसेको छलफलले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने निर्णय गरेको प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता रामज्ञान यादव ले जानकारी दिएका छन् । यद्यपि निर्णय भएको दुई दिन बितिसक्दा पनि समितिले पूर्णता पाउन सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुख विपिनकुमार झा का अनुसार छानबिन समितिको संयोजकमा इन्द्रजित रजक लाई जिम्मेवारी दिइएको छ भने अन्य सदस्यबारे छलफल भइरहेको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ निवासी २६ वर्षीया सुत्केरी अन्जिना यादवको मृत्यु भएको थियो । मृतकका पति राधेश्याम यादवले शल्यक्रियामा संलग्न चिकित्सक धीरेन्द्रकुमार साह र श्रेया लक्ष्मी साह को लापर्बाहीका कारण पत्नीको मृत्यु भएको आरोप लगाएका छन् ।
राधेश्यामका अनुसार जेठ ४ गते बिहान प्रसव पीडापछि अन्जिनालाई अस्पताल ल्याइएको थियो। प्रारम्भिक जाँचमा सामान्य सुत्केरी हुने भनिए पनि पछि आकस्मिक शल्यक्रिया गर्नुपरेको थियो । शिशुको जन्मपछि अत्यधिक रक्तस्राव भएपछि चिकित्सकले पाठेघर निकाल्नुपर्ने बताएका थिए । दोस्रो शल्यक्रियापछि अन्जिनाको अवस्था थप गम्भीर बनेको र भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार नआएपछि गत शुक्रबार उनको मृत्यु भएको परिवारको भनाइ छ ।
घटनापछि परिवारजनले अस्पताल प्रशासनविरुद्ध आन्दोलन गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा शल्यक्रियामा संलग्न चिकित्सकलाई निलम्बन गर्न माग गरेका थिए । त्यसपछि अस्पताल प्रशासन र पीडित परिवारबीच भएको सहमतिअनुसार छानबिन समिति गठन गर्ने, अनुसन्धान नसकिएसम्म सम्बन्धित चिकित्सकलाई निलम्बन गर्ने तथा मेडिकल सुपरिन्टेन्डेन्ट जामुन सिंह माथि पनि कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
तर उक्त निर्णयको विरोध गर्दै चिकित्सकहरूले अस्पतालका सेवा बन्द गरेका थिए। उता प्रतिष्ठानका रेक्टर रामनरेश पण्डित ले भने अन्जिनाको स्वास्थ्य अवस्था सुरुदेखि नै जटिल रहेको दाबी गरेका छन् । उनका अनुसार गर्भावस्थाभर नियमित स्वास्थ्य परीक्षण नगराएका कारण समस्या पहिचान गर्न कठिन भएको थियो । शल्यक्रियापछि रक्तस्राव नरोकिएपछि उपलब्ध सबै स्रोतसाधन प्रयोग गरी उपचारको प्रयास गरिए पनि बिरामीलाई बचाउन नसकिएको उनले बताएका छन् ।