अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको एक भैंसीलाई बंगलादेशको राष्ट्रिय चिडियाखानामा राखिने भएको छ ।
रोयटर्सका अनुसार ३८ वर्षीय मालिक जिया उद्दीन मृदाले उक्त भैंसी बेचेपछि नयाँ मालिकले इदका अवसरमा काट्ने तयारी गरेका थिए । तर, जनचासो अत्यधिक बढेपछि सरकारी अधिकारीहरूले अन्तिम अवस्थामा हस्तक्षेप गर्दै भैंसीलाई जोगाएका हुन् ।
अधिकारीहरूले भैंसीलाई किनेर संरक्षणमा राख्ने निर्णय गर्दै ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्ने तयारी गरेका छन्। अब यो भैंसी त्यहीँ सुरक्षित रूपमा राखिनेछ ।
झन्डै ७ सय केजी तौल भएको यो भैंसीका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। लाखौं प्रयोगकर्ताले यसको फोटो हेरेका छन् भने धेरैले यसलाई ‘डोनाल्ड ट्रम्प’ नाम दिएका छन् ।
अधिकारीका अनुसार सुरक्षा कारण र अत्यधिक जनचासोका कारण भैंसीलाई जोगाउने निर्णय गरिएको हो । चिडियाखाना प्रशासनले अवलोकनकर्ताहरूलाई सुरक्षित रूपमा देखाउने व्यवस्था मिलाइने जनाएको छ ।
पूर्व मालिक मृदाले यसलाई आफ्नो भाइले कपाल र टाउकोको बनावटका कारण मजाकमा ‘डोनाल्ड ट्रम्प’ नाम दिएको बताएका थिए । उनका अनुसार अल्बिनो प्रजातिको यो भैंसी शान्त स्वभावको छ र उचित आहारका कारण स्वस्थ पनि रहेको छ ।
त्यसैगरी, बंगलादेशमै करिब ७५० केजी तौल भएको अर्को भैंसी पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसलाई प्रयोगकर्ताहरूले ‘बेन्जामिन नेतान्याहू’ नाम दिएका छन् ।