सीमामा अनाधिकृत रूपमा आयात भइरहेको माछामाथि रोक लगाइएपछि सुनसरीका माछा किसान उत्साहित भएका छन् । नेपाली माछा किसानहरूले लागत बढी र आम्दानी कम हुने तथा भारतीय माछासँग प्रतिस्पर्धा गर्न नसक्ने गुनासो गर्दै आएका थिए ।
प्रतिबन्धित मुग्री माछा आयातमा कडाइ गर्दै नष्ट गर्न थालिएपछि स्थानीय किसानमा उत्साह बढेको माछा किसान देवनारायण यादवले बताए । उनका अनुसार सीमापारिबाट कम लागतमा आउने भारतीय माछासँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको अवस्थामा नियन्त्रणले राहत मिलेको छ ।
यसैबीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले सुनसरीका माछा किसानसँग भेटघाट गर्दै पोखरीहरूको स्थलगत निरीक्षण गरेका छन् । उनले रामधुनी नगरपालिका–७ स्थित ह्याप्पी हार्भेष्ट कृषि फर्म र देवानगञ्ज गाउँपालिका–७ स्थित सुनसरी बहुउद्देश्यीय कृषि फार्मको अनुगमन गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री मन्सुरीले कृषकका समस्या, उत्पादन अवस्था र सम्भावनाबारे जानकारी लिँदै कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र कृषकको आय वृद्धि गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
किसान भीष्म अधिकारीले सीमामा कडाइपछि नेपाली माछा किसानमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै सरकारी सहयोग र लगानी आवश्यक रहेको बताए ।