पिपरा सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका–४ स्थित झाझ पुल क्षेत्रमा गएराति एकजना विद्युत् कर्मचारीमाथि लुटपाट भएको छ ।
अज्ञात समूहले कर्मचारीलाई कुटपिट गरी मोटरसाइकल लुटेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजदेवी नगरपालिका–१ निवासी पङ्कजकुमार यादव राति करिब ९ः४० बजे ड्युटी सकेर घर फर्किरहेका बेला झाझ पुल क्षेत्रमा लुटपाटको शिकार भएका हुन् । यादव गंगापिपरा फ्युज शाखामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी रहेको बताइएको छ ।
लुटेराहरूले यादवको ना.२९प २९३२ नम्बरको नीलो रङको मोटरसाइकल नियन्त्रणमा लिएर फरार भएका थिए । घटनापछि पीडितले प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षक जयप्रकाश पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान तथा लुटिएको मोटरसाइकलको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यस घटनापछि स्थानीयवासीले गौर–पिपरा–समनपुर सडकखण्डमा रातिको समयमा पर्याप्त सुरक्षा व्यवस्था नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार झाझ पुल क्षेत्र अत्यन्त व्यस्त सडकखण्ड भए पनि राति प्रहरीको उपस्थिति न्यून रहने गरेको छ ।
स्थानीयले उक्त क्षेत्रमा २४सै घण्टा प्रहरी बिट स्थापना गर्न पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । स्थानीयवासीले झाझ पुल क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सुरक्षामा कमजोरी रहँदा यस्ता आपराधिक घटना पुनः दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
प्रहरीले भने घटनामा संलग्न व्यक्तिहरूलाई चाँडै नियन्त्रणमा लिने जनाएको छ ।