आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेटमाथिको छलफल प्रक्रिया अगाडि बढाउन अझै संसदको रोष्टममा जान पाएका छैनन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलले संघीय संसदको दुवै सदनमा अवरोध जारी राखेपछि प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल सुरु हुन सकेको छैन ।
प्रतिनिधिसभामा जेठ १८ गतेदेखि बजेट छलफल अगाडि बढाउने तयारी भए पनि लगातारको अवरोधका कारण अर्थमन्त्री वाग्लेले “आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव पेश गर्न सकेका छैनन् ।
जेठ १९ गतेको बैठकसमेत अवरुद्ध भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरेका छन् । यसबीच आज बस्ने राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १२:१५ बजे बस्ने तय भएको छ ।
तर प्रतिनिधिसभामा जारी अवरोधकै प्रभाव राष्ट्रियसभामा पनि पर्ने सम्भावना देखिएको छ । विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभा बैठकसमेत अवरुद्ध गर्न सक्ने संकेत गरेका छन् ।
यद्यपि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले विवाद प्रतिनिधिसभासँग सम्बन्धित विषय भएकाले राष्ट्रियसभा सञ्चालन गर्न दलहरूसँग छलफल गरिरहेका छन् । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पनि सहमतिको प्रयास गरिरहेकी छन् ।
यदि अवरोध कायमै रहेर असार मसान्तभित्र बजेट पारित हुन नसके देश ‘बजेट होलिडे’को अवस्थामा पुग्न सक्ने खतरा रहेको छ । यस्तो अवस्थामा सरकारी खर्च तथा प्रशासनिक कामकाज प्रभावित हुन सक्ने जानकारहरू बताउँछन् ।
आजको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको छ ।