सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मनराशिश्वा नगरपालिका–७ निवासी २२ वर्षीय अनिल साहले “@Sarpallopulchwokboy” नामक टिकटक आइडीमार्फत नेपाल प्रहरीप्रति लक्षित गर्दै अभद्र तथा अपमानजनक भाषा प्रयोग गरिएको भिडियो सार्वजनिक गरेका थिए ।
प्रहरीका अनुसार उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रारम्भिक अनुसन्धान अघि बढाइएको थियो । त्यस क्रममा प्रहरीले उनलाई घरमै पुगेर सोधपुछ तथा सम्झाइबुझाइ गरेको भए पनि प्रहरी कर्मचारीप्रति थप अभद्र व्यवहार गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिएका छन् ।
प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार बन्न, अफवाह वा आपत्तिजनक सामग्री पोस्ट नगर्न तथा कानुनविपरीत गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।