वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले गत साउन ११ गते शिक्षक दरबन्दी मिलान गरेपछि उत्पन्न विवाद शुक्रबारदेखि मत्थर भएको छ ।
नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर समिति र महानगरबीच पाँच बुँदे सहमति भएपछि विवाद सुल्झिएको भनिएको छ । तर, पाँच बुँदे सहमतिले महासङ्घले उठाएका मुख्य माग सम्बोधन नगरेको शिक्षक महासङ्घका सदस्यहरूको भनाइ छ ।
महासङ्घका अध्यक्ष प्रदीप जैसवालसहितको टोली र नगरप्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण लगायतको सहभागितामा सहमति भए पनि महासङ्घले उठाएका शिक्षक दरबन्दी, भ्रष्टाचार र अनियमितता सम्बन्धी मुद्दाहरू सहमतिमा समेटिएको छैन ।
महानगरले शिक्षा क्षेत्रका प्रअ, शिक्षक, बालविकास शिक्षिका र कर्मचारीहरूको सरुवाबारे उठेका समस्या समाधान गर्न भनेको छ । यस्तै, दरबन्दीअनुसार विद्यालयमा हाजिर भएर काम गर्नुपर्ने र समस्याहरू नीति अनुसार समाधान गरिने उल्लेख गरिएको छ ।
महासङ्घले समस्याग्रस्त ११४ जना शिक्षकका लागि आन्दोलन स्थगित गर्दै निवेदन संकलन गरेको थियो। जसमा ८९ वटा निवेदन महासङ्घमा र २५ वटा शिक्षा महाशाखामा परेका थिए । समस्यामा परेका ३३ जना शिक्षकको विषयमा आगामी आइतबार छलफल हुने बताइएको छ ।
यद्यपि, शुक्रबार भएको सहमतिबाट असन्तुष्ट शिक्षकहरू र नेपाल शिक्षक महासङ्घ पर्साले आज शनिवार बैठक बोलाएको छ ।
सम्बन्धित समाचार