राष्ट्रिय सभाको बैठकमा आज पनि प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।
यसअघि पनि लगातार दुई वटा बैठक विपक्षीको विरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका थिए । आजको बैठकमा पनि सोही विषय दोहोरिएपछि संसद् पुनः अवरुद्ध भएको हो ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै नेपाल–भारत सीमा समस्या कूटनीतिक छलफलबाट समाधान गर्नुपर्ने बताएका थिए । सोही क्रममा उनले नेपाल–भारत दुवै पक्षले सीमामा अतिक्रमण गरेको विषय उल्लेख गरेका थिए ।
उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइलाई आपत्तिजनक र कूटनीतिक रूपमा संवेदनशील विषयलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै निरन्तर विरोध गर्दै आएका छन् ।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीले प्रयोग गरेको भाषा र अभिव्यक्तिप्रति औपचारिक स्पष्टीकरण वा रेकर्डबाट हटाउन माग गर्दै सदन अवरुद्ध गरिरहेका छन् । संसद् अवरुद्ध हुँदा विधेयक छलफल तथा अन्य नियमित कार्यसूची प्रभावित भएको संसद् सचिवालयले जनाएको छ ।
सत्तापक्षका सांसदहरूले भने संवेदनशील विषयमा छलफल हुनुपर्ने भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् । तर सहमति नजुट्दा आज पनि राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित हुने अवस्था देखिएको छ ।