रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको संयुक्त टोलीमाथि काठ तस्कर समूहले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।
डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त गस्ती टोली राति चन्द्रनिगाहपुर–मैरा सडकखण्डअन्तर्गत पुल नजिक वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनाका आधारमा पुगेको थियो। सोही क्रममा तस्कर समूहले गस्ती टोलीलाई घेरा हालेर आक्रमण गरेको बताइएको छ । घाइते हुनेमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र बिमल थापा तथा गाडी चालक अरविन्द पटेल रहेका छन् ।
घटनामा घाइते भएका सबैलाई प्रारम्भिक उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको र केहीलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको वन कार्यालय स्रोतले जनाएको छ । रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवका अनुसार गस्ती टोलीले काठ तस्करी भइरहेको सूचना पाएपछि तत्काल जंगल क्षेत्रमा पुगेको थियो । तर जंगलभित्र प्रवेश गर्नेबित्तिकै तस्करहरूले संगठित रूपमा आक्रमण गरेका थिए ।
स्थानीयका अनुसार उक्त क्षेत्रमा लामो समयदेखि अवैध काठ कटान र ओसारपसारको समस्या देखिँदै आएको छ । रातको समयमा सक्रिय हुने तस्कर समूहका कारण वन सुरक्षाकर्मीहरू जोखिममा पर्ने गरेको उनीहरूको भनाइ छ । घटनापछि वन कर्मचारी तथा उपभोक्ता समूहले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । उनीहरूले वन सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने आवश्यकता समेत औंल्याएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनामा संलग्न समूहको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जनाएको छ ।