जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न सबै खरिदकर्ता तथा सरोकारवालालाई सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पछिल्लो समय केही व्यापारी तथा बिचौलियाहरूले सरकारी दरभन्दा कम मूल्यमा धान खरिद गरी कृषकहरूलाई मर्कामा पारेको जनगुनासो बढेपछि यस्तो चेतावनी जारी गरेकाे हाे । उनका अनुसार कृषकको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न तथा धान बजारमा मूल्य स्थिरता कायम गर्न सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि न्यूनतम समर्थन मूल्य तोकेको छ । सो निर्णय कार्यान्वयन नगरी कम मूल्यमा धान खरिद भएको पाइए कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ ।
सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालयले “न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२” अनुसार सबै स्थानीय तह, सहकारी संस्था, मिल सञ्चालक तथा निजी खरिदकर्तालाई अनिवार्य रूपमा तोकिएको मूल्य कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
त्यसैगरी स्थानीय तहलाई धान खरिद प्रक्रियाको अनुगमन, जनचेतना अभिवृद्धि तथा आवश्यक समन्वय गरी बजारमा अनियमितता रोक्न भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्देशिन उल्लङ्घन गर्ने कृषकलाई कम मूल्य दिई ठगी गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने बताएका छन् ।